सिंहदरबार घेराउबाट कर्मचारी र सर्वसाधारणलाई सास्ती

By:Pradeep Bhujel


काठमाडौँ, २६ । साउन विपक्षी दलसँग सम्बद्ध युवा र विद्यार्थी सङ्गठनसम्मिलित संयुक्त युवा–विद्यार्थी सङ्गठनको आन्दोलन परिचालन कमिटीले आज दुई घन्टा ‘सिंहदरबार घेराउ’ गरेको छ । मुलुकको वर्तमान राजनीतिक र संवैधानिक सङ्कट अन्त्य गर्नुपर्ने, चाँडोभन्दा चाँडो राजनीतिक सहमति कायम गरी राष्ट्रिय सरकार गठन गर्नुपर्ने र राष्ट्रियताको संरक्षणका लागि प्रभावकारी कदम चाल्नुपर्ने माग गर्दै बिहान ९ बजेदेखि ११ बजेसम्म सिंहरदरबार घेराउ गरिएको युवा सङ्घ नेपालका अध्यक्ष महेश बस्नेतले जानकारी दिनुभयो ।
‘पछिल्लो समय मुलुकको राष्ट्रियतासमेत सङ्कटमा पर्दै गएकाले चाँडोभन्दा चाँडो राष्ट्रिय सहमतिको सरकार गठनका लागि दलहरु अग्रसर हुनुपर्छ, अन्यथा कडा आन्दोलनका कार्यक्रम तय गरिनेछ’, उहाँले भन्नुभयो । ‘सिंहदरबार घेराउ’का कारण त्यसवरपरका कार्यालयमा जाने कर्मचारी तथा कामविशेषले सिंहदरबार जाने सर्वसाधारणसमेत प्रभावित भएका थिए भने सरकारी गाडी पूर्वी ढोकाबाट धमाधम भित्र्याइएको थियो ।
राष्ट्रियताका सवालमा वर्तमान सरकार अहिलेसम्मकै कमजोर साबित भइसकेको ठहरसमेत गर्दै ती दलले सङ्कटपूर्ण अवस्थाबाट मुलुकलाई बचाउन वर्तमान सरकारले मार्गप्रशस्त गर्नुपर्ने ठहरसमेत गरेको छ । घेराउ गर्ने कार्यक्रम सकिएपछि आजै दिउँसो बैठक बसेर संयुक्त आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने जनाइएको छ । रासस