प्रधानमन्त्री डा. वावुराम भट्टराईलाई चितवनमा कालोझण्डा

By:Pradeep Bhujel















चितवन , ३१ साउन  । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइ आज चितवन आउनुभएको छ । प्रधानमन्त्रीको भ्रमणलाई लिएर जिल्लाभरी सुरक्षा व्यवस्था कडा पारिएको छ । दिउसो साढे २ बजे भरतपुर विमानस्थलमा ओर्लिए लगत्तै प्रधानमन्त्रीले तालीमकेन्द्रमा जिल्लाका सुरक्षाप्रमुखहरुलाई भेट्नुभएको छ । नियमित गाउ भ्रमण अन्तर्गत सिद्धिका ८३ बर्षिय बन्दीपुरे चेपाङलाई भेट्न प्रधानमन्त्री चितवन आउनु भएको हो । ओडारमा बसेको समाचार सार्वजनिक भएपछि चेपाङलाई भेट्न र चेपाङ बस्तीको अवस्था बुझ्न प्रधानमन्त्री चितवन आउनु भएको हो । आजै शक्तिखोर हुदै प्रधानमन्त्री , गाडी मार्फत सिद्धि गाविस जानुहुनेछ । प्रधानमन्त्री आज सिद्दि नै बस्नु हुनेछ । प्रधानमन्त्री सँगै मुख्य सचिव लिलामणी पौडेल पनि चितवन आउनुभएको छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा चेपाङ बस्तीमा गरिबी निवारणका लागि गरिबि निवारण कोषले झण्डै ३ करोड रुपैया बराबरको आर्थिक सहयोग प्रदान गर्दैछ ।
विपक्षी दल सम्बद्ध युवा संगठनहरुले विरोध जनाउंदै प्रधानमन्त्रीलाई कालोझन्डा देखाएका छन् । प्रधानमन्त्री विमानस्थल ओर्लिए बित्तिकै विमानस्थल बाहिर जम्मा भएका युवाहरुले नाराबाजी गर्दै कालोझन्डा देखाएका हुन् । उनीहरुलाई विमानस्थल प्रवेश गर्न दिईएको थिएन ।
नेपाल तरुण दल र युवा संघका कार्यकर्ताहरुले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन् ।
उता ,
उद्योग मन्त्री अनिल कुमार झा चढेको गाडी लाई आज रौतहटको चन्द्रनिगाहपुरमा विपक्षी दलका युवाहरुले कालो झण्डा ओढाईदिएका छन् । कार्यकर्ता प्रशिक्षण भेलामा जान लागेको बेला उहां चढनु भएको झण्डावाल गाडीमा युवाहरुले कालो झण्डा ओढाईदिएका हुन् । सुरक्षाकर्मीहरुले पछी कालोझन्डा हटाईदिएका थिए ।