
एजेन्सी, २१ भदौ । मलेसियामा जारी आईसिसी वल्र्ड क्रिकेट डिभिजन फोर प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ ।
क्वालालाम्पुरको सेलेङ्गर टर्फ क्लवमा भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको छ । जितसँगै नेपालको डिभिजन थ्रीमा उक्लने सम्भावना बलियो बनेको छ । घरेलु टोलीले दिएको ७० रनको झिनो लक्ष्य नेपालले १२ दशमलव २ ओभरमा विना विकेटको क्षतिमा भेट्टाएको हो ।
जितका लागि नेपालका स्पिनर सुवास खकुरेलले नटआउट २४ र अनिल मण्डलले नटआउट ४१ रनको योगदान दिए । यसअघि टस जितेर पहिले व्याटिङ रोजेको घरेलु टोली ३२ दशमलव १ ओभरमा ६९ रन जोडेर अलआउट भएको थियो । नेपाली बलरहरुले दबाबमा राखेको मलेसियाका लागि सफिक सरिफले सर्वाधिक २२ रन जोड्नुबाहेक अन्य व्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।
मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका शक्ति गौचन र बसन्त रेग्मीले ३/३ तथा अमृत भट्टराईले २ र विनोद दास र सञ्जम रेग्मीले समान १/१ विकेट हात पारे । प्रतियोगितामा नेपालका शक्ति गौचनले बलिङमा विश्व किर्तिमान कायम गरेका छन् ।
मलेसियाविरुद्ध उत्कृष्ट बलिङ गरेका शक्तिले वेष्ट इकोनोमी रन रेटमा वेष्ट इण्डिजका फिल सिमोनको २० वर्ष पुरानो कीर्तिमान तोडेका हुन् । शक्तिले १० ओभरमा ८ मेडन राख्दै २ रन दिएर ३ विकेट लिए । उनको इकोनोमी रन रेट शुन्य दशमलव २० छ । यसअघि फिल सिमोनले सन् १९९२ को डिसेम्बरमा पाकिस्तानविरुद्ध १० ओभरमा ८ मेडन राख्दै ३ रन दिएर ४ विकेट लिएका थिए । उनको वेष्ट इकोनोमी रन रेट शुन्य दशमलव ३० थियो ।