दर खान माइत जान्छु भन्दा श्रीमानले मरणासन्न हुनेगरी पिटे


तीजको अबसरमा महिलाहरु ब्रत बसेर नाचगान गरिरहेका बेला गोठाघरकी एक महिला भने श्रीमानबाट कुटिएकी छिन् ।
८ वर्षा देखि माइत नगएकी गोठाटारकी सरीता चापागाईले दर खान माइत जान्छु भन्दा ससुराले अपशब्द प्रयोग गरेका थिए भने श्रीमान यादवले मरणासन्न हुनेगरी कुटपिटे गरे ।श्रीमानले श्रीमती माथी खुकुरी प्रहर गर्न खोजदा छिमेकीले आएर छेकेपछि उनको ज्यान बचेको हो ।
दोषीमाथि कारबाही गर्न माग गर्दै मंगलबार बानेश्वर प्रहरी प्रभागमा महिलाहरुसँग आइपुगेकी सरीताले गहभरी आँशु पार्दै भनिन्-’माइत जान्छु भन्दा ससुराले अपशब्द प्रयोग मात्र गरेनन्, यसलाई मार्छु भन्दै श्रीमान खुकुरी लिएर आए ।’ उनका अनुसार यसअघि पनि श्रीमानले कुट्दा बचाउँदै आएका छिमेकीले देखेपछि अन्य छिमेकीलाई बोलाएर बचाएका हुन् ।  दाइजोको रुपमा मोटरसाइकल नदिएको भन्दै यादवले यसअघि पनि सरीतालाई कुटपिट गर्दै आएका थिए । सरीता र यादवबीच १४ वर्ष अघि विवाह भएको हो । चार वर्षअघि चरम यातनापछि बिष पिउने प्रयाससमेत गरेकी थिइन सरिताले । त्यतिखेर उनीहरुको झगडा स्थानीय एक सहकारीले मिलापत्र गरेको भएपनि यादवले कुट्न छाडेनन् । स्थनीयका अनुसार यादवले सरीतालाई ‘मारि छाड्छु’ भन्दै पटक-पटक कुटपिट गर्ने गरेका छन् । प्रहरीले भने सरीताका श्रीमान यादव, ससुरा र अर्का एकलाई पक्राउ गरी अनुसन्धान थालेको छ । उनीहरुविरुद्ध सार्वजनिक अपराध अन्तरगत मुद्धा चलाइने बानेश्वर प्रहरी बृत्तले जनाएको छ ।
श्रीमानले खुकुरी हान्दा पनि सरीताले भने मंगलबार दिनभर निरहार ब्रत बसेर तीनै श्रीमानको दिर्घायुको कामना गरेकी छिन् ।