दलहरु संविधानसभाको अर्को निर्वाचनमा जान सहमत, पुर्नस्थापनाको विकल्प समाप्त, अबको विवाद सत्तासाझेदारीमा



असोज ३, काठमाडौं
दलहरु संविधानसभाको नयाँ निर्वाचनमा जान एकमत भएका छन् । एकीकृत माओवादी, नेपाली कँग्रेस, एमाले र मधेशी मोर्चाको आज बसेको संयुक्त बैठकले विवादित बिषयमा सहमती हुने सम्भावना समाप्त भएको भन्दै संविधानसभा पुर्नस्थापना हुन नसक्ने निष्कर्ष निकालेको हो । राजधानीको नयाँबानेश्वरस्थित बिशेष समिति सचिवालयको कार्यालयमा बसेको बैठकमा दलहरु नयाँ निर्वाचनमा जान सहमत भएपनि निर्वाचनको प्रक्रिया सम्बन्धमा भने विवाद कायमै छ ।
 
संविधानका विवादित बिषयमाथि पछिल्लो समय गंभिर छलफल गरेपनि दलहरुले पुरानै अडानमा कायम भएपछि निष्कर्ष निस्कन नसकेको हो । बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले विवाद समाधान हुने बाटो समाप्त भएकाले संविधानसभा पुन:स्थापना आधार सकिएको बताउनुभयो । 
 
यस्तै, कंग्रेस महामन्त्री कृष्ण सिटौलाले गत जेठ २ गते भएको सहमति अनुसार संविधानसभा पुन:स्थापनामा जाने पहल भएपनि सफल नभएको भन्दै नयाँ निर्वाचनमा जाने सैद्धान्तिक सहमति भएको उल्लेख गर्नुभयो । 
 
एकीकृत माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले संघीयताको विषयमा सहमति हुन नसकेपछि निर्णयका लागि जनतामा नै जाने सहमति भएको उल्लेख गर्नुभयो । नयाँ निर्वाचनमा जान आवश्यक कानुनी तथा संवैधानिक प्रक्रियाका विषयमा भने थप छलफल हुने उहाँले बताउनुभयो ।
 
यसअघि आज बिहान बसेको सत्तासाझेदार एककिृत माओबादी र मधेसी मोर्चा तथा प्रतिपक्षी नेपाली कँग्रेसको छुट्टाछुट्टै बैठकले गतिरोध अन्त्यका लागि नयाँ निर्वाचनको विकल्प नभएको निश्कर्ष निकालेका थिए । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहान बसेको माओवादी र मधेशी मोर्चाको बैठकले १० वा १४ प्रदेशमा सहमती नभए संविधानसभाको नयाँ निर्वाचनमा जाने निर्णय गरेको थियो । 
 
यस्तै महाराजगञ्जस्थित सभापति सुशील कोइरालाको निवासमा बिहान बसेको कंग्रेस नेताहरुको अनौपचारिक बैठकले समेत संविधानसभा पुनस्थापनामा सहमतिको प्रयास क्षीण बन्दै गएकाले निर्वाचनमा जानुको विकल्प नभएको निष्कर्ष निकालेको थियो ।