काठमाण्डौं, १९ भदौ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभाबाटै संविधान निर्माण गराउनका लागि आफ्नो पार्टी र सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
संविधानसभाभन्दा बाहिरबाट संविधान बनाउने कुरा कुनै पनि हालतमा स्वीकार्य नरहेको बताउँदै प्रधानमन्त्रीले त्यसका लागि संविधानसभाको नयाँ निर्वाचन वा विघटित संविधानसभाको पुनःस्थापना नै उत्तम विकल्प भएको स्पष्ट पार्नुभयो ।
रेडियो नेपालबाट प्रसारित जनतासँग प्रधानमन्त्री कार्यक्रमको १२ औं विशेष शृंखलाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सर्वोच्च अदालतको आदेशअनुसार स्वतः विघटन भएको संविधानसभालाई आफूले विघटन गराएको भन्ने आरोपको कुनै तुक नभएको बताउनुभयो ।
संविधानसभाको विघटनबाट सबैभन्दा चिन्तित र पीडित आफू भएको चर्चा गर्दै प्रधानमन्त्रीले १० वर्षको जनयुद्धको क्रममा आफ्नो पार्टी त्यसैका लागि सबैभन्दा बढ्ता त्याग गरेको कारण संविधानसभा विघटन गराएको भन्ने आरोपले कुनै अर्थ नराख्ने बताउनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो- ;पहिले मलाई देवताजस्तो गरी चित्रित गरियो, अहिले फेरि दानव जसरी चित्रण गरिदैंछ, म देवता पनि होइन, दानव पनि होइन । म अरुजस्तै साधारण नागरिक हुँ, मेरो सबैभन्दा बढ्ता लगाब जनतालाई सेवा र सुविधा प्रदान गर्नुमा नै रहेको छ ।
राज्य पुनःसंरचना नहुँदासम्म जनताले चाहेजस्तो सेवा र सुविधा दिन नसकिने निष्कर्षमा आफू पुगेको र त्यसका लागि पूर्णता क्रान्तिको आवश्यकता रहेकोमा उहाँले जोड दिनुभयो । पुरानै राज्य व्यवस्थामा जनताका आवश्यकता र चाहना पूरा गर्न सकिँदो रहेनछ, त्यसका लागि राज्यको आमूल परिवर्तनको आवश्यकता हुँदो रहेछ- प्रधानमन्त्रीले भन्नुभयो । वीस्तृतमा हेर्नुहोस …