विदेशीयका सात जना वाकसमा घर फर्केपछि गाउँनै शोकाकुल



भारत । भारतको उत्तराखण्ड राज्यको पिथौरागढ दारमा क्षेत्रमा पहिरोमा पुरिएर ७ नेपालीको मृत्यु भएको छ । दार्चुलासंग सीमा जोडिएको भारतको पिथौरागढ जिल्लाको धारचुला तहसिल दारमा भन्ने स्थानमा सडक खन्ने क्रममा पहिरोमा पुरिएर  नेपाली कामदारको मृत्यु भएको हो ।
आइतवार दिउँसो ४ बजेतिर पहिरोमा पुरिएर बैतडी घर भएका ७ जना नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा बैतडी जिल्लाको विशालपुर गाविसका ४३ वर्षिय मानध्वज कोली, ३५ वर्षिय विष्णुराम भुल, ३२ वर्षिय श्यामराम भुल, ४० वर्षिय सन्तोषराम लोहार, ३० वर्षिय रामीराम लोहार छन् । बैतडीकै सर्माली गाविसका २५ वर्षिय बीरेन्द्रराम सोनी र ४९ वर्षिय झुपराम सोनी को पनि पहिरोमा पुरिएको मृत्यु भएको छ ।
सडकमा काम गरिरहेका ११ जना नेपाली कामदारमध्ये ७ जनाको मृत्यु भएको र ४ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी देवबहादुर बोगटीले बताउनुभयो । गम्भीर घाइते हुनेमा बैतडीको विशालपुर २ का मान लोहार र सर्माली ८ का रमेशराम लोहार रहेका छन् । घाइतेको भारतको धारचुलास्थित सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
नेपाल प्रहरीले भारतीय प्रहरीबाट घटनाबारे जानकारी प्राप्त भएको जनाएको छ । घटनाबारे सोमवार मात्रै जिल्ला प्रहरी कार्यालयमा जानकारी मिलेको थियो । घटनास्थल दार्चुला सदरमुकामसंग जोडिएको भारतीय बजार धारचुलाबाट ५० किलोमिटर पश्चिम उत्तरमा पर्दछ ।